११ असार ०७८, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शेरबहादुर देउवातर्फका कानुन व्यवसायीलाई प्रधानमन्त्रीले विश्वासको मत लिन्नँ भन्ने ठाउँ कहाँ हो भनेर प्रश्न गरेका छन् ।
शुक्रबार शेरबहादुर देउवासहित विघटित प्रतिनिधिसभाका १४६ जना सदस्यले दायर गरेको रिट निवेदनमाथि बहसमा उभिएका अधिवक्ता डा. दिनमणि पोखरेललाई प्रधानन्यायाधीश जबराले यस्तो प्रश्न गरेका हुन् ।
“विश्वासको मत पाउँदिन वा लिन्नँ भन्ने ठाउँ राष्ट्रपति कार्यालय हो कि संसद, प्रोपर ठाउँचाहिँ कहाँ हो ?” अधिवक्ता पोखरेललाई प्रधानन्यायाधीश जबराको प्रश्न थियो ।
“धारा ७६ (५) को कन्टेक्सटमा शेरबहादुरजीले बहुमत सदस्य लिएर जानुभयो । राष्ट्रपतिले अवस्था हेर्ने होइन,” अधिवक्ता पोखरेलले भने, “प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमै जानुपर्थ्यो ।”