५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जिफन्टको छैटौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद उदघाटन समारोहलाई सम्बोधन गर्दै संसदमा दर्ता भएको अविश्वासलाई ‘इर्ष्या प्रस्ताव’ को संज्ञा दिएका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार उदघाटन समारोहलाई सम्बोधन गर्दै सरकारको लोकपि्रयताबाट डराएकाहरुले ‘इर्ष्या प्रस्ताव’ दर्ता गराएको बताउँदै यो सरकार कायम रहे बुढाबुढी, बालबालिका, युवा सबै उसैको हुने भो भन्ने पिरले अविश्वास नामको चिन्ता प्रस्ताव दर्ता भएको बताएका हुन् ।
नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठनको गृहकार्य गरेको नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ । र, यसमाथि भोलि छलफल गर्ने तय भएको छ ।
प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव दर्ता गरेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुई तिहाई बहुमत भए संविधान संशोधन गरेर देखाउन चुनौती दिए ।
प्रधानमन्त्री ओलीले सभामुख ओनसरी घर्तीको समेत मिलेमतोमा आर्थिक विधेयक रोकेर जाने, एजेण्डा गायब बनाउने र सबै राष्ट्रिय एजेण्डालाई हटाएर अघि बढेमा हराएको प्रस्ताव सदनमा कहाँ गयो ? भनी खोजिने बताएका छन् । उनले संसद मनपरी गर्ने ठाउँ होइन भन्दै उनले बलजफ्ती गरेर अगाडि नबढ्न चेतावनी दिए ।