‘नाकाबन्दी हटाएकाले हो कि के हो अविश्वासको प्रस्ताव ?’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘अचम्मको कुरा त के छ भन्दा सरकार सञ्चालन गर्न, निर्देशन ठीक ढंगले गर्न राजनीतिक संयन्त्र बनेको थियो । संयोजकको नाम ठ्याक्कै अविश्वासको प्रस्ताव प्रस्तुतकर्तासँग मिल्छ । उहाँ नै हो कि के हो ? मलाई थाहा भएन । उहाँ नै हो भने अप्ठ्यारो पर्छ ।’
७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्ध व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव पेश भएको छ । सभामुख ओनसरी घर्ती मगरले प्रस्तावमाथि छलफलका लागि तीन दिन समय तोकेकी छन् ।
दलहरुको सहमति अनुसार सुरुमा बजेटसम्वन्धी तीन विधेयक संसदमा प्रस्तुत भयो । तर, माओवादीले विपक्षमा मतदान गरेपछि बजेट आश्रित तीन विधेयक बहुमतले अस्वीकृत भएको छ । लगतै संसदमा अविश्वासको प्रस्ताव पेश भयो ।
माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरे । उनले प्रधानमन्त्रीले माओवादीलाई उपयोग मात्र गरेकाले समर्थन फिर्ता लिनुको परेको दाबी गरे ।
कांग्रेस नेता विमलेन्द्र निधिले अविश्वासको प्रस्तावको समर्थनमा बोले । त्यसपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बोलेका छन् । उनले नाकाबन्दी हटाएकाले अविश्वासको प्रस्ताव ल्याएको हो ? भनेर प्रश्न गरेका छन् ।
‘नाकाबन्दीको देश केपी ओलीलाई सुम्पने स्वयम् त्यो नाकाबन्दीलाई भूमिका खेल्ने पक्षसँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्नु भएको छ । नाकाबन्दी हटाएकाले हो कि के हो अविश्वासको प्रस्ताव ?’ नेम्वाङले भने, ‘अचम्मको कुरा त के छ भन्दा सरकार सञ्चालन गर्न, निर्देशन ठीक ढंगले गर्न राजनीतिक संयन्त्र बनेको थियो । संयोजकको नाम ठ्याक्कै अविश्वासको प्रस्ताव प्रस्तुतकर्तासँग मिल्छ । उहाँ नै हो कि के हो ? मलाई थाहा भएन । उहाँ नै हो भने अप्ठ्यारो पर्छ ।’
बैठक भोलि विहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रस्तावमाथिको छलफलको अन्त्यमा प्रधानमन्त्री केपी ओलीले जवाफ दिने छन् र प्रस्तावमाथि मतदान हुनेछ ।