१३ साउन ०७४, काठमाडौं । राजधानीको मुख्य केही स्थानमा ढल र खानेपानीको पाइप फुटेर सडक अस्तब्यस्त भएकाले तत्काल सडकमा पानी र ढलको लिकेज हटाउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड र ढल निकास विभागलाई फुटेका ढल र पाइप छिटो जेडेर सुचारु गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यालयमा बसेको बैंठकमा सडक विभागका प्रतिनिधिहरुले तत्काल यस्ता लिकेजहरु बन्द गरिदिए मात्रै सडक मर्मत गर्न सक्ने बताएपछि प्रधानमन्त्रीको कार्यालयले यस्तो निर्देशन दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेड र ढल निकास विभागलाई फुटेका ढल र पाइप छिटो जेडेर सुचारु गर्न निर्देशन दिएको हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार सुन्धाराचोकदेखि भोटोहिटी, जमल, नारायण गोपालचोक, चावाहिलदेखि गोपिकृष्णचोक तीनकुनेदेखि कोटेश्वर, थापाथलीदेखि माइतिघरमा पानीको लिकेजको समस्या ब्यापक छ ।
त्यस्तै नक्सालदेखि भगवती बहाल, गौशालाको जयबागेश्वरी, लैनचौर र सोह्रखुट्टेमा पनि पानि लिकेजको समस्या छ । त्यस्तै पुतली सडकदेखि कृण पाउरोटी, कमलादीदेखि त्रिचन्द्र क्याम्पससम्म, रातोपुल गौशाला र हात्तिसारको जयनेपाल हल नजिकमा पनि ढल लिकेजको समस्या रहेको सडक विभागले जनाएको छ ।
सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले बैठकमा तत्काल सडक मर्मत गरेपनि पानी र ढलको लिकेजका कारण सडक लामो समय नटिक्ने जानकारी गराएका थिए ।
प्रधानमन्त्री कार्यालयले १५ गतेभित्र २२ स्थानमा पानी तथा ढलको लिकेज हटाउन निर्देशन दिएको छ ।