प्रधानमन्त्री प्रचण्डको भारत छिट्टै हुन्छ – गृहमन्त्री निधि

७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दूतको हैसियतमा भारत गएका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आफूलाई भारतले उच्च सम्मान दिएको र उच्चस्तरको भेटघाट तथा छलफल सम्भव भएको भन्दै प्रधानमन्त्री प्रचण्डको भारत छिट्टै हुने बताएका छन् ।

Nidhi

प्रधानमन्त्रीका विशेष दूत बनेर भारत गएका गृहमन्त्री निधिले मंगलबार अपराहृन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै  भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण समेत सुनिश्चित भएको बताए ।

उनले नेपाल-भारत सम्वन्धमा बीचमा तिक्तता देखिएको भएपनि अब सम्वन्ध पुनः सुधार भएको दाबी गर्दै निधिले आफ्नो भ्रमणलाई भारतीय पक्षले उच्च महत्व दिएर नयाँ सरकारलाई सम्मान गरेको बताए ।

प्रधानमन्त्री प्रचण्डको तीनदिने भारत भ्रमण तय

प्रधानमन्त्री प्रचण्डको तीनदिने भारत भ्रमण हुने बताइए पनि औपचारिक घोषणा हुन बाँकी छ ।

यद्यपि, दिल्ली भ्रमणमा रहेका मन्त्री निधीले प्रधानमन्त्रीको भारत भ्रमण भदौ २९ देखि असोज १ गतेसम्म तय भएको र भदौ ३० गते नेपाल र भारतका प्रधानमन्त्रीबीच द्वीपक्षीय भेटवार्ता हुने दिल्लीबाटै बताएका थिए । यो तालिकाबारे प्रधानमन्त्री कार्यालयले अहिलेसम्म औपचारिकरुपमा केही बताएको छैन ।

परराष्ट्र मामिलाका जानकारहरुका अनुसार भ्रमणको कार्यतालिका बनाउने जिम्मेवारी परराष्ट्र मन्त्रालयको हो । तर, यसपटक दिल्लीबाटै प्रधानमन्त्रीको भ्रमणको मिति र तालिका सार्वजनिक भयो ।

सञ्चारमन्त्री भन्छन् – भ्रमणको मिति तोक्ने अधिकार विशेष दूतलाई हुन्छ

यसैवीच सूचना तथा सञ्चारमन्त्री राम कार्कीले भारत भ्रमणको मिति तोक्ने अधिकार विशेष दूतलाई रहेको बताएका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणको मिति र तालिकाले प्रधानमन्त्री कार्यालयमा समेत कसरी भ्रमण तालिका दिल्लीमा बन्यो भन्दै खैलाबैला मच्चिएको समाचार आइरहेका बेला सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री कार्कीले भारतमा राजदूत नभएको अवस्थामा ‘एम्बासडर एट लार्ज’ का रुपमा पठाइएका प्रधानमन्त्रीका प्रतिनिधि विमलेन्द्र निधीले यो मितिको प्रस्ताव गरेको र उताबाट त्यसमा सहमति जनाइनु कूटनीतिक मामिलामा सामान्य विषय भएको बताएका छन् ।

तपाइको मत