प्रधानमन्त्री प्रचण्डको दुष्प्रचार गर्ने शेरबहादुर पक्राउ

१ साउन ०८०, बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को तस्वीरसहित भ्रामक कुरा लेखेर दुष्प्रचार गर्ने देवदह नगरपालिका–८ का तथाकथित टाइगर रानामगर भनिने शेरबहादुर राना मगर बुटवलबाट पक्राउ परेका छन् ।

शोकमा रहेका प्रधानमन्त्री प्रचण्डको तस्बिरसहित दिवंगत सीता दाहाललाई जोडेर असम्बन्धित तथा असंवेदनशील कुरा लेखेका शेरबहादुरलाई केन्द्रीय साइबर ब्युरोले आइतबार पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाकाअनुसार ती युवकलाई बुटवल देवीनगरबाट पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक थापाले ती व्यक्तिलाई काठमाडौंमा साईबर क्राईम सम्बन्धि मुद्दा चलाइने बताए ।

ती व्यक्तिले सामाजिक सञ्जाल फेसबुकको चरम दुरुपयोग गर्दै प्रधानमन्त्री प्रचण्डको फोटो जोडेर भारतीय राशन कार्ड र आधार कार्ड रहेको भन्दै नक्कली विवरणसहित दुष्प्रचार गरेका थिए ।