१४ असोज ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा सात दलको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले आइतबार बिहान ११ बालुवाटारमा सात दलको बैठक बोलाइएको बताए ।
बैठकमा राष्ट्रिय मान्यताप्राप्त दलहरू सहभागी हुनेछन् । सात दलको बैठकमा सदन सञ्चालन, सुन तस्करीको छानबिन लगायतमा छलफल हुने बुझिएको छ ।
यसैबीच प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीले बोलाएको छलफलमा आजै बिहान एमाले अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेर भेटवार्ता गरेका छन् ।
उक्त छलफलमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् ।
एमालेले तस्करीको सुन छानबिन गर्न उच्चस्तरीय आयोग गठनमा सरकारले धोका दिएको भन्दै आजबाट बस्ने प्रतिनिधि सभा बैठक अवरोध गर्ने चेतावनी दिएको छ ।
स्रोतकाअनुसार सोही विषयमा छलफल गर्न प्रचण्डले एमाले नेताहरूसँग छलफल गरेका हुन् ।