१८ असोज ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा उपचाररत नेकपा (माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
पार्टीको तीन महिने रुपान्तरण अभियानमा सुदूरपश्चिमका जिल्लामा क्रियाशील रहेकै समयमा अस्वस्थ भई बीरमा भर्ना भएका आचार्यलाई भेट्न प्रधानमन्त्री प्रचण्ड वीर अस्पताल पुगेका थिए ।
मंगलबार अछामको साँफेबगरको कार्यक्रममा सहभागी हुन गएका बेला आचार्यको स्वास्थ्यमा समस्या देखिएपछि बयलपाटा अस्पताल लगिएको थियो । त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरबाट बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज हुँदै बुधबार वीर अस्पताल ल्याएर भर्ना गरिएको थियो ।
आचार्यको दायाँ भाग नचल्ने र बोली ननिस्किने समस्या देखिएको छ ।
प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिई चिकित्सकहरुलाई उपचारमा सम्भव भएसम्मका सबै उपाय अपनाउन आग्रह गरेका छन् ।