७ असोज ०८०, चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका महामहिम राष्ट्रपति सी जिनफिङबीच शनिबार ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ ।
चीनको साताव्यापी भ्रमणका लागि शनिबार चीनको हाङ्जाओ पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गरेका हुन् ।
भेटवार्तामा दुबै नेताबीच क्षेत्रीय स्थिरता, शान्ति र सम्बृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको र एक अर्काको चासो, संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको छ ।
यस्तैगरी राष्ट्रपति सीले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा खुल्ला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिएका छन् ।
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधि मण्डलसँग सामूहिकरुपमा समेत गरी एक घण्टा लामो भेटवार्ता भएको थियो ।
राष्ट्रपति सीले भेटवार्तामा शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठूलो र सानो देशको भेदविना समान सहअस्तित्वका साथ अघि बढाएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सम्वन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा चीनले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्वपूर्ण रहेको बताए ।
उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अंगिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रष्ट पारेका छन् ।
यस्तै प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको वेल्ट एण्ड रोड अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकको स्मरण पनि गरेका छन् ।