१० चैत, काठमाडौंं । प्रधानमन्त्री प्रचण्ड र नेपाल भ्रमणमा आएका चीनका रक्षामन्त्री जनरल चाङ वान क्वानबीच बिहीबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा प्रचण्डले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ परियोजनामा साझेदार बन्न नेपाल इच्छुक रहेको बताए ।
भेटमा प्रधानमन्त्रीले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहँदै आएको बताउँदै चीनको अभिन्न अंग तिब्बत र ताइवान विरोधी गतिविधिको सधै नेपालले विरोध गर्ने प्रष्ट पारे ।
नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताउँदै सहयोगप्रति आभार व्यक्त गरे ।
नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच विकसित सम्वन्धप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेका थिए ।