५ बैशाख ०७४, काठमाडौं । एमाले कार्यबहाक अध्यक्ष बामदेव गौतमले संविधान विरोधी काम गरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई पदमा बसिरहने अधिकार नभएको बताएका छन् ।
कार्यबहाक अध्यक्ष गौतमले काठमाडौंमा आयोजित पार्टीको केन्द्रीय सम्पर्क भेलालाई सम्बोधन गर्दै मधेसी मोर्चा नआए निर्वाचन हुन नसक्ने अभिव्यक्ति दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्रीलाई पदमा बसिरहने अधिकार नभएको बताएका हुन् ।
निर्वाचन गराउने दायित्व बोकेकाहरुले निर्वाचन नहुने सन्देश दिएको भन्दै उनले स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न हुनेमा शंका नगर्न पार्टी नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले बैशाख ३१ को निर्वाचन कुनै हालतमा नरोकिने भन्दै एमालेलाई विजयी हुनबाट कुनै पनि शक्तिले रोक्न नसक्ने बताए ।
नेता माधवकुमार नेपालले निर्वाचन विरोधी षडयन्त्रलाई परास्त गर्दै मुलुकमा निर्वाचन सम्पन्न गराइने बताए ।
महासचिव ईश्वर पोखरेलले अनुचित माग राखेर मधेसी मोर्चाले देशलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाए ।