२८ जेठ, सप्तरी । आफ्नै गृहनगरमा निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधी प्रसाद यादवले कालो झण्डाको सामना गर्नुपरेको छ ।
निर्वाचन आयोगले मधेसको अधिकार प्राप्त नभएको अवस्थामा पनि निर्वाचन गराउन खोजेको भन्दै प्रमुख आयुक्त यादवलाई राजपाका नेता-कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् ।
राजविराजस्थित सप्तरीका प्रमुख जिल्ला अधिकारीको निवासमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका प्रमुख आयुक्तलाई कालो झण्डा देखाउँदै राजपाका कार्यकर्ताले नाराबाजी गरेका थिए ।
यद्यपि प्रमुख आयुक्त यादवले राजविराजमा आइतबार आयोजित कार्यक्रममा पछिल्लो पटक घोषणा भएको असार १४ गतको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताएका छन् ।
उनले भने, ‘असार १४ गतेको निर्वाचनबारे जनतालाई कुनै किसिमको भ्रम छैन, गुणन-भागा गर्नेलाई नै बढी भ्रम रहेको छ ।’













