प्रमुख दलका शीर्ष नेतृत्व डा. गोविन्द केसीको माग सम्बोधन गर्न तयार

२१ साउन ०७४, काठमाडौं । प्रमुख दलका शीर्ष नेतृत्वले अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न चिकित्सा शिक्षा विधेयक अघि बढाउने निर्णय गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख दलका शीर्ष नेतृत्वसहित सरोकारवालालाई सिंहदरबारमा बोलाएको बैठकमा सो विधेयक अघि बढाउने सहमति बनेको हो ।

चिकित्सा शिक्षाको माग राख्दै १२ दिनदेखि अनशनरत डा. केसीको मागबारे प्रमुख दलसहित सरोकारवालाको बैठकमा सहमति भएसँगै अनशनरत डा. केसीलाई अनशन तोड्न आग्रहसमेत गरिएको छ ।

बैठकमा सहभागी प्रधानमन्त्री कार्यालयका सचिव एवं वार्ता समितिका सदस्य गोपीनाथ मैनालीले मुख्य दलका शीर्ष नेतृत्वबिच संसद्को महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिमा छलफलका क्रममा रहेको चिकित्सा शिक्षा विधेयक अघि बढाउने सहमति भएको र अनशनरत डा. केसीलाई अनशन तोड्न शीर्ष नेतृत्वले आग्रह गरेको जानकारी दिए ।

मैलालीले भने, ‘संसद्को समितिमा छलफलका क्रममा रहेको चिकित्सा शिक्षा विधेयक अघि बढाउन शीर्ष नेतृत्वबिच सहमति देखिएको छ, उहाँहरूले अनशनरत डा. केसीलाई अनशन तोड्नसमेत आग्रह गर्नुभएको छ ।’

डा. केसी माथेमा आयोगको प्रतिवेदनको मर्मअनुसारकै विधेयक पारित गर्नुपर्ने लगायत माग राख्दै १२ दिनदेखि अनशनमा बसिरहेका छन् ।

तपाइको मत