२८ माघ, काठमाडौं । निर्वाचन आयोगले फागुन ८ गतेभित्र सबै ऐन कानुनका साथै स्थानीय तह पुनर्संरचना प्रतिवेदन दिए जेठमा निर्वाचन गर्न सकिने बताइरहँदा प्रमुख दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्र फागुन ८ गतेभित्र स्थानीय तहको निर्वाचन घोषणा गर्न सहमत भएका छन् ।
सहमति अनुसार सरकारले फागुन ७ वा ८ गते नै चुनावको मिति घोषणा गर्नेछ । पहिलो चरणको स्थानीय चुनाव वैशाख अन्तिम साता वा जेठ १ भित्र हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बिहान प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को हरिसिद्धी निवासमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष भिम रावल पनि सहभागी थिए ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सो बैठकअघि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि टेलिफोनमा कुराकानी गरेका थिए ।
निर्वाचन आयोगले स्थानीय तहको चुनाव कम्तिमा दुई चरणमा गर्नुपर्ने बताएको छ भने त्यस आधारमा वैशाख २९ वा जेठ १ गते पहिलो चरणको चुनाव गर्ने तयारी छ ।