२२ साउन ०७४, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहले भरतपुर महानगरपालिकालाई नमुना महानगर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मेयर र उपमयेरमा जित हासिल गरेपछि पहिलोपटक सञ्चारमाध्यमलाई प्रतिक्रिया दिदै दाहाल र शाहले भरतपुर महानगरपालिकालाई नमुना महानगर बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
मेयरमा निर्वाचित भइसकेपछि पहिलोपटक सञ्चारमाध्यमलाई प्रतिक्रिया दिदै दाहालले महिलाको अधिकारको पक्षमा र एकल महिलाको अधिकार स्थापित गर्ने कुरामा आफूले केही गरेर देखाउन उनले आफ्नो पहिलो काम नै महिलाको हक अधिकार सुरक्षित गर्न लाग्ने बताइन् ।
त्यस्तै उपप्रमुख शाहले भरतपुर महानगरलाई नमुना महानगर बनाँउन पार्टीले पनि गूरुयोजना बनाइसकेको बताइन् । उनले महिलाले अवसर नपाएर मात्र काम गर्न नसकेको हो, अवसर पाए महिलाले पुरुष भन्दा बढी काम गर्न सक्छ भन्दै महिलाको हक अधिकार सुरक्षित गर्न लागि पर्ने बताइन् । महानगरमा सरसफाई तथा सडक निमार्णको कामलाई पहिलो प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता गरिन् ।
भरतपुर महानगरको प्रमुखमा एमालेका देवी ज्ञवालीलाई २०३ मतले पछि पार्दै माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी हुन् । उनले ४३ हजार १२७ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे ।
माओवादी केन्द्र र नेपाली काँग्रेसको संयुक्त गठबन्धनबाट उपप्रमुखमा विजयी पार्वती शाहले निर्वाचनमा सबैभन्दा बढी ४७ हजार १ सय ९७ मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्द्वी एमालेकी दिव्य आचार्यको पक्षमा ३९ हजार ५२५ मत खस्यो ।