३ फागुन, काठमाडौं । नेपाल प्रहरीका निमित्त महानिरीक्षककाे डा. दिनेशचन्द्र पोखरेलले प्रहरीको साख गिर्ने कुनै पनि काम नगर्न निर्देशन दिएका छन् ।
निमित्त प्रहरी महानिरीक्षको जिम्मेवारी सम्हालेको पहिलो दिन मंगलबार दिउँसो महानगरीय प्रहरी आयुक्तको कार्यलय रानीपोखरी पुगेका पाखरेलले ब्रिफिङमा सहभागीलाई चेन अफ कमाण्ड नतोड्न आग्रह गर्दै प्रहरीको साख गिर्ने कुनै पनि काम नगर्न निर्देशन दिएका हुन् ।
‘म डाक्टर मान्छे परिस्थितिले यो अवस्थामा ल्यायो । म भन्दा तपाइँहरुलाई प्रहरीको बारेमा धेरै जानकारी छ’ उनले भने, ‘मेरो कार्यकाल भरी प्रहरीमा ‘अाँच आउने काम नहोस् ।’
ब्रिफिङमा सहभागी एक डीएसपीका अनुसार आईजीपी पाखरेलले कानुन अनुसार गर्नु पर्ने काममा सम्झौता नगर्न पनि निर्देशन दिएका छन् ।
सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि सर्वोच्चले साे निर्णय कार्यान्वयनमा अन्तरिम रोक लगाएपछि सरकारले सोमबार साँझ पाेखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको थियो ।
प्राविधिकतर्फका एआईजी पोखरेललाई प्रहरी निमित्त महानिरीक्षकको जिम्मेवारी दिन प्रहरी नियमावली नै संशोधन गरिएको थियो । यसैबीच नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी एसएसपी सर्वेन्द्र खनाललाई दिइएको छ ।