१७ चैत, राजबिराज । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताले बिहीवार सप्तरी सदरमुकाम राजविराज स्थित जिल्ला समन्वय समिति र राजविराज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् ।
सरकारद्वारा घोषित निर्वाचन र स्थानीय तह पुनरसंरचनामा असन्तुष्टि जनाउँदै १० दिनअघि लगाइएको ताला प्रहरीले खोलेको भन्दै मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् ।
तोडफोडका कारण राजविराज नगरपालिकाका झ्याल ढोका, टेवुल कुर्सी, कम्प्युटर लगायतमा क्षति पुगेको छ ।
लगत्तै नाराजुलुससहित जिल्ला समन्वय समितिमा पुगेका मोर्चा कार्यकर्ताले लेखा, प्रशासन र योजना शाखामा तोडफोड गरेका छन् । उनीहरुले केहीबेरअघि सुरक्षाकर्मीले खोलेको दुबै कार्यालयमा पुनः तालाबन्दी गरेका छन् ।
दुबै कार्यालयमा गरिएको तोडफोडवाट १० लाखभन्दा बढिको क्षती भएको कर्मचारीहरुले जानकारी दिएका छन् । त्यसैगरी जिल्ला मालपोत कार्यालयलाई पुरानै संरचना अनुसार राजस्व नलिएको भन्दै मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेका छन् ।
मालपोत प्रमुख दधीराम गुरागाईले भने सरकारले भनेअनुसार हामीले राजस्व उठाउने हो र सोही अनुसार राजस्व उठाएकोे बताए ।