९ माघ ०७५, राजविराज । मोस्टवान्टेड सुचीमा रहेका तराईमा सशस्त्र समूहका एक नेता प्रहरी इन्काउण्टरमा मारिएका छन् ।
बुधबार विहान प्रहरी कार्वाहीमा ३२ वर्षीय दिपेन्द्र चौधरीको मृत्यु भएको हो ।
राजविराज–रुपनी सडक खण्ड स्थित रुपनीमा चेकजाँच गरिरहेका जिल्ला प्रहरी कार्यालयका टोलीमाथि आक्रमण गर्न खोज्दा जवाफी कारवाहीमा चौधरी मारिएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । चौधरीलाई गोली लागेपछि मोटरसाइकल चलाईरहेका अर्का व्यक्ति भने भाग्न सफल भएको उपरीक्षक विष्टले बताए
तराईमा सशस्त्र सघर्षरत प्रगतिशिल तराई मुक्ति मोर्चाका नेता मृतक चौधरीले तीन वर्ष अघि झुटकी प्रहरीका इन्चार्ज असई रेशम सुब्बाको गोली हानी हत्या र दुई वर्षअघि इलाका प्रहरी कार्यालय कडरवोनाको गाडीमा लक्षित बम विस्फोट गरेका थिए ।
गत माघ २ गते मात्रै खडग नगरपालिका वडा नं.७ विसनपुर चौकमा ड्युटीमा रहेका प्रहरी हवलदार महेन्द्र सतरा यादवमाथि गोली प्रहार लगायतका अपराधिक घटनामा मृतक चौधरीको संलग्नता रहेको एसपी विष्टले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।