१६ भदौ ०७४, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्राकृतिक विपतसँग सबै मिलेर लड्नुपर्ने बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित ‘वाढीपडितहरुको सहयोगार्थ संकलित नगद एवं खाद्यान्न’ विषयक कार्यक्रममा नेता सिंहले राजनीतिक अस्थिरताको बेला विपतको सामना गर्न राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताएका हुन् ।
‘मुलुक एकातिर राजनीतिक अस्थिरतामा जकडिएको छ भने अर्कोतिर प्राकृतिक प्रकोपको कारण झनै बिकराल परिस्थितिमा फस्दै गएको छ,’ नेता सिंहले भने, ‘आम मुलुकवासी सबै एक भएर यो समस्या समाधानको पहलमा जुट्नुपर्ने भएको छ ।’
मुलुक सामू अनेकन समस्या रहेकैबेला दलीय एकता हुनुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै नेता सिंहले चिन्ता व्यक्त गरे ।
कार्यक्रममा सामुदायिक सेवा समितिले वाढी–पीडितका लागि सङ्कलन गरेको १ लाख २७ हजार नगद र खाद्य सामाग्री नेता सिंह मार्फत् प्रधानमन्त्री राहत कोषलाई प्रदान गरेको थियो ।