१५ माघ, काठमाडौं । आज टुँडिखेलमा तामाङ जातिले ल्होछार पर्व भव्यताका साथ मनाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले तामाङ समुदायको २८५३औं सोनाम ल्होछार कार्यक्रमलाई शनिबार काठमाडौंको टुँडीखेलमा सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको क्षमता र इमान्दारितालाई खुलेर प्रशंसा गरे ।
‘कुलमान घिसिङजीको क्षमता र इमान्दारितालाई मैले विगत एक–दुई वर्षयता नजिकबाट हेरिरहेको थिएँ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कति बेला मौका मिल्ला र उहाँलाई उचित जिम्मेवारी दिन सकिएला भन्ने मौकाको खोजीमा थिएँ, प्रधानमन्त्री भएपछि त्यो मौका मिल्यो, सरकारले उहाँलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनायो । आज उहाँले हाम्रो विश्वासलाई व्यवहारमा उतार्नुभएको छ । म उहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’
जिम्मेवारी पायो भने जुनसुकै जाति र समुदायको व्यक्तिले पनि गरेर देखाउन सक्छ भन्ने कुरा तामाङको छोरो कुलमानजीले प्रमाणित गरेर देखाएको भन्दै प्रधानमन्त्री प्रचण्डले घिसिङको मुक्तकण्ठले प्रशंसा गरे ।
प्रधानमन्त्री प्रचण्डले सरकारले दिने सहयोग दोब्बर बनाउने घोषणा गर्दै तामाङ समुदायको सांस्कृतिक भवन बनाउन सरकारले सहयोग गर्ने आश्वासन दिए ।
घिसिङ सेलीब्रेटी बनेको प्रमाण
नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ शनिबार काठमाडौंको टुँडीखेलमा साँच्चैका सेलीब्रेटी बनेको प्रमाण देख्न पाइयो ।
तामाङ जातिले बनाउने २८५१ औं सोनाम ल्होछार पर्व मनाउन टुँडिखेलमा भेला भएका हजारौं सहभागीका वीचमा वक्ताहरुले कुलमान घिसिङको मुक्तकण्ठले प्रशंसा गरे ।
प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा शुभकामना दिँदै आफूले कुलमानसिंह घिसिङको क्षमता देखेर जिम्मेवारी दिएको बताए । ‘उहाँ सक्षम व्यक्ति हो भन्ने मैले थाहा पाएर मौका हेरिरहेको थिएँ,’ प्रधानमन्त्रीले भने- ‘म कुलमानजीलाई विशेष धन्यवाद दिन चाहन्छु । उहाँले आफ्नो क्षमता देखाउनुभएको छ ।’
ल्होछारको शुभकामना मन्तव्य राख्ने क्रममा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पनि तामाङहरु जैविकरुपमै सक्षम रहेको कुरा कुलमान घिसिङले प्रमाणित गरिदिएको बताए ।
डा.भट्टराईले यसअघिका नेतृत्वकर्ताहरुले बिजुली चोरेका कारण लोडसेडिङ भएको भन्दै डा. भट्टराई कुलमानले त्यसलाई तोडेको बताए ।
यसैगरी एमाले नेता शेरबहादुर तामाङले कुलमान घिसिङका कारण आज सम्पूर्ण तामाङहरु गौरवान्वित बनेको बताए ।
‘एक जना तामाङका छोरा कुलमान घिसिङले लोडेसेडिङ हटाएर देखाए’ एमाले नेता तामाङले भने, अर्का लोकमानसिंह कार्कीले चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र बसेर भ्रष्टाचार गरे ।’
उनले अवसर पाएको अवस्थामा तामाङहरु राज्य सञ्चालनमा सक्षम रहेको समेत बताए ।
नेकपा क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्य, संघीय समाजवादीका राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुले २८५१ औं ल्होछारको अवसरमा आयोजित कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।