१३ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभागृहमा प्रेस सेन्टर नेपालको प्रथम राष्ट्रिय एकता महाधिवेशन उदघाटन गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले १२ बर्षपछि माओवादी केन्द्र निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको उदघाटन समारोहलाई सम्बोधन गर्दै नेपालको राजनीतिक परिवर्तनमा प्रेस जगतले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले अहिलेको मुख्य चुनौती संविधान कार्यान्वयन भएकाले प्रेस जगतले सहयोग गर्नुपर्नेमा विशेष जोड दिए ।
‘संविधान घोषणा गर्यौं, कार्यान्वयन जटिलता छ’ भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधान कार्यान्वयन गर्न र आन्तरिक राष्ट्रियतालाई मजबुत बनाउन पनि मिडियाले महत्वपूर्ण भूमिका खेल्नु पर्दछ ।’
प्रेस सेन्टर नेपालको बिहीबारदेखि सुरु भएको एकता महाधिवेशन असोज १३ र १४ गते चल्नेछ ।
प्रथम राष्ट्रिय एकता महाधिवेशन प्रतिनिधिहरुबाट ९७ सदस्यीय कार्य समिति गठन हुनेछ । जसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, खुल्ला उपाध्यक्ष २, समावेशी उपाध्यक्ष २ (१ महिला अनिवार्य), महासचिव १ र उपमहासचिव १ जना चुनिने छन् ।
यसैगरी प्रदेशाबाट चुनिने खुला ८, महिला सचिव १, आदिवासी जनजाति सचिव १, मधेसी सचिव १, दलित सचिव १ र कोषाध्यक्ष १ जना चुनिने बन्द सत्रमा पारित विधानमा उल्लेख गरिएको छ ।
विधानत् २१ सदस्यीय पदाधिकारी र ८ प्रदेशका अध्यक्ष रहने गरी २९ सदस्यीय सचिवालय गठन हुनेछ ।
प्रेस सेन्टरको पारित विधानमा ६३ जना सदस्यलाई महाधिवेशनले चयन गर्नेछ भने ५ जना सदस्यलाई केन्द्रीय समितिले मनोनित गर्नेछ ।
प्रेस सेन्टर नेपालको अध्यक्ष पदका आकांक्षी
अध्यक्ष पदमा ओम शर्मा, विष्णु सापकोटा ‘जुगल’, बलराम थापा, दीपक मैनाली, दिपेन्द्र रोकाया, गोविन्द रोका ‘सचिन’ आकांक्षी छन् । सर्बसम्मतिको प्रयास भइरहे पनि बुधबार मध्यरातसम्म कसैले पनि आफ्नो दावी छाडेका छैनन् ।
सहमति जुट्ने सम्भावना कम भएकाले मतदानको तयारीसमेत गरिएको छ । निर्वाचन नै गर्ने स्थिति आएमा बलराम थापा र विष्णु सापकोटाबीच प्रतिस्पर्धा हुने तर ओम शर्मा चुनाव नलडीकन सर्बसम्मत अध्यक्ष बन्ने खेलमा लागेका छन् ।