फतुवा विजयपुर नगरपालिकाका मेयर भ्रष्टाचार मुद्दामा दोषी ठहर

१७ असोज ०८०, रौतहट । फतुवा विजयपुर नगरपालिकाका मेयर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका सूचना अधिकारी धनबहादुर कार्कीले दिएको जानकारीअनुसार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुशीप्रसाद थारुको संयुक्त इजलासले मेयर गोपाल राय यादवलाई दोषी ठहर गरेको हो ।

उनीसँगै अरु २० जनालाई पनि मुद्दा दायर भएकामा उनीहरु भने निर्दोष ठहर भएका छन् ।

यादवको सजाय निर्धारण यही २४ असोजमा हुने बताइएको छ ।

मेयर यादवले ऐन नियम विपरीत लालबकैया नदीको ठेक्का लगाएको ठहर गर्दै अख्तियारले यादवसहित २१ जनाविरुद्ध १२ असार २०७९ मा १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।