३० माघ ०७७, सप्तरी । जिल्लाको सुरुङ्गा नगरपालिका–५ कुशहामा फोहोर तथा पशु बधशालाको उचित व्यवस्थापन हुन नसक्दा बजार क्षेत्र दुर्गन्धित बनेको छ ।
फोहोर तथा पशु बधशालाको व्यवस्थापन नहुँदा सर्वसधारणको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्न थालेको भन्दै कुशहावासीले उचित व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
नगरपालिकाले नै सडक छेउमै फोहर फाल्ने गरेकाले स्थानीयवासी र आवत–जावत गर्नेहरु दुर्गन्धको शिकार हुनु परेको स्थानीयको गुनासो छ ।
जतामन लाग्यो त्यतै फोहोर फालिदिँदा सर्वसधारणहरु नाक थुनेर हिँडनु पर्ने बाध्यता रहेको स्थानीय अशोक झाले बताए ।
उनले भने, ‘पहिलो नगरपालिकाले फोहोर उठाउँदैन, दोस्रो जहाँ पायो त्यहीँ फोहोर फाल्नाले नगर क्षेत्र दुर्गन्धित बनेको छ ।’
यस्तै कुशहा, कदमाहा, कनकपुर लगायत अधिकांश ग्रामिण बजारहरुमा व्यवस्थित पशु बधशाला नहुँदा दुर्गन्ध साथै फोहोर बढ्दै गइरहेको स्थानीयको गुनासो छ ।
‘बजार क्षेत्रका मासु बिक्रेताहरुले जहाँ पायो त्यहीँ पशु पशु वध गर्ने र भित्री फोहोर जहाँ मन लाग्यो त्यहीँ फालिदिँदा फोहोर र दुर्गन्ध बढेको कुशहाका स्थानीयवासी जितेन्द्र कुमार पासवानले बताए ।
पासवानले भने, ‘जथाभावी खसी, बाख्र्रा, कुखुरा वध गर्ने तर फोहोर नजिकै जता खाली त्यतै फालिदिने गर्नाले जनस्वास्थ्यमाथि प्रतिकूल असर परेको छ । तर, स्थानीय प्रशासन देखेर पनि नदेखेझैं गरी मौन बसिरहेको छ ।’
स्थानीय बद्री मण्डलले जतासुकै पशु वध गर्ने र फोहर फाल्नेलाई कडा कर्वावाही गर्नुपर्ने बताए ।