बङ्गालको खाडीबाट शक्तिशाली चक्रवात आउने सम्भावना

६ जेठ ०७७, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट शक्तिशाली चक्रवात नेपाल आउने सम्भावना रहेको जनाएको छ ।

चक्रवात अझ शक्तिशाली हुने क्रममा मङ्गलबारबाट पूर्वी नेपालको मौसममा बदली हुँदै नेपाल प्रवेश गर्ने पूर्वानुमान गरिएको छ ।

युएस ज्वाइन्ट टाइफुन केन्द्रका अनुसार उक्त चक्रपात एम्फन सोमबार रात बंगालको खाडीमा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली तुफान बनेको छ । जसको गति प्रतिघण्टा २७० किलोमिटरसम्म चलिरहेको बताइएको छ ।

सिएनएनले कोरोना भाइरस महामारीसँग लडिरहेका भारत र बंगलादेशका लाखौं व्यक्तिहरू यस ‘सुपर चक्रवात एम्फन’को थप त्रासमा परेको जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार देशको सम्भावित आपतकालको बारेमा समीक्षा गरेका थिए भने समीक्षा बैठकपछि मोदीले आफ्नो आधिकारिक ट्विटरमा सबै नागरिकको सुरक्षाको लागि प्रार्थना गर्दै केन्द्र सरकारबाट पूर्ण सहयोग हुने बताएका छन् ।

यस्तै भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्सले २५ टोली आपतकालीन क्षेत्रमा खटाएको र १२ टोली रिजर्भ राखिएको जनाएको छ । साथै, भारतीय मौषम विभागले माझीहरुलाई २४ घण्टासम्म समुन्द्री किनारमा नजान भनेको छ ।

नेपालमा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले सो चक्रपातले भारतको पश्चिम बङ्गाल क्षेत्र हुँदै पूर्वी नेपालको पहाडी भूभागमा असर पार्नसक्ने बताएकी छन् ।

उनले त्यसपछि मध्य र पूर्वी नेपालका भूभागमा असर गर्ने भन्दै जसका कारण त्यस क्षेत्रमा वर्षा हुने जानकारी दिइन् ।

यस्तै नगरकोटीले त्यसपछि देशैभरि मौषम बदली भई दुई/तीन दिन केही स्थानमा वर्षा हुने साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको बताइन् ।