बन्दीपुरको होटल बसाईमा १५ प्रतिशतसम्म छुटको व्यवस्था

११ कार्तिक ०७७, तनहुँ । जिल्लाका पर्यटन व्यवसायीले होटलमा छुट प्याकेज घोषणा गरेका छन् ।

लामो समयदेखि कोभिड–१९ ले थला परेको बन्दीपुरको पर्यटन व्यवसाय उठाउनका यहाँका व्यवसायीहरुले होटलहरुमा छुट प्याकेज घोषणा गरेका हुन् ।

चाडपर्वलाई लक्षित गरी सबै होटल तथा रेष्टुरेण्टले १० देखि १५ प्रतिशतसम्म छुट प्याकेज दिइरहेको क्षेत्रीय होटल व्यवसायी संघ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले बताए ।

आन्तरिक पर्यटन गतिशील बनाउनका लागि होटल व्यवसायीहरुले छुट प्याकेज सार्वजनिक गरेको अध्यक्ष प्रधानले बताए ।

उनले संघमा आवद्ध ७७ होटलमा आउने पाहुनाले सो छुट पाउने भन्दै स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार होटल तथा रेष्टुरेण्टहरु खुलेको पनि बताए ।

होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले बन्दीपुर सुरक्षित छ भन्ने सन्देशसहित पर्यटकलाई स्वागत गर्न बन्दीपुरका व्यवसायी आतुर रहेको बताए ।

बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिलेजलगायत सानाठूला ७७ होटल सञ्चालनमा रहेका छन् ।