बयलपाटा अस्पताललाई कारवाही, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने ट्रेड युनियनको माग

२६ जेठ ०७७, अछाम । साँफेबगर नगरपालिका–६ भागेश्वरका सिद्धान्त आउजीले सोमबार बिहान बयलपाटा अस्पतालको आकस्मिक कक्ष अगाडि आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएर मृत्यु भएपछि अखिल नेपाल ट्रेड युनियन महासंघ सुदूर पश्चिम प्रदेश कमिटीले अस्पताललाई तत्काल कारवाही गर्नुपर्ने माग गरेको छ ।

अस्पताल प्रशासनको मनोपलीका कारण एक मजदुर पेट्रोल छर्किएर आत्महत्या गर्नुपर्ने अवस्था सृजना हुनु दुखद घटना भन्दै अन्टुफ सुदूर पश्चिम प्रदेश कमिटीले अस्पताललाई सरकारले कारवाही गर्नुपर्ने माग गरेको हो ।

अन्टुफ सुदूरपश्चिम प्रदेश इन्चार्ज नरहरि नाथ योगीले कोरोना संकटका बेला अस्पतालले कर्मचारी थप गरेर सर्वसुलभ सेवा दिनुपर्नेमा उल्टो श्रम ऐन र सामाजिक सुरक्षा ऐनको धज्जी उडाई ३३ जना कर्मचारीहरु कटौती गरेर आत्महत्या गर्नुपर्ने अवस्थामा पु-याउने अस्पताल व्यवस्थापनलाई हदैसम्मको कारवाही हुनु पर्ने भन्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति र अस्पतालमै रोजगारीको ग्यारेण्टी साथै निश्कासित सबै कर्मचारीहरुको पुर्नबहाली गर्नुपर्ने बताएका छन् ।

यस्तै उक्त घटनाबारे सुदूरपश्चिम प्रदेशका अन्टुफ उपाध्यक्ष जगदिश सेटीले आउजीसहित ३३ जना कर्मचारी निश्कासन गरेर अस्पतालले एकजना मजदुरलाई आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाउने अवस्था पु-याएको घटना अमानवीय भन्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति र निश्कासित सम्पूर्ण कर्मचारीहरुलाई पुर्नबहाली नगरिए आन्दोलनको सामना गर्न अस्पताललाई चेतावनी दिएका छन् ।

आउजीलाई हेलिकप्टरबाट आकस्मिक उद्धार गरेर सोमबार दिउँसो कोहलपुर उपचारका लागि लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको साँफेबगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरपति भट्टले जानकारी दिएका छन् ।

सरसफाई कर्मचारीकारुपमा डेढ वर्षदेखि उक्त अस्पतालमा कार्यरत सिद्धान्त आउजी लगायत ३२ जना कर्मचारीलाई आर्थिक सङ्कट परेको भन्दै हालै सो अस्पतालले करार सम्झौता थप नगरेर रोजगारीबाट हटाएको थियो ।