परासी । अखिल नेपाल ट्रेड युनियन महासंघले बरुण वेभरेज (पेप्सी) प्रा.लि.बाट निश्कासित मजदुरहरूलाई पुर्नबहाली नगरिए आन्दोलनको आँधि सिर्जना गर्ने बताएको छ ।
महासंघ उपमहासचिव समेत रहेका औधोगिक परिषद्का इन्चार्ज शालिक राम काफ्लेले बरुण वेभरेजका मजदुरलाई पुनर्बहाली नगरिए आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।
पश्चिम नवलपरासीको रामग्राम १० नदवामा रहेको बरुण वेभरेज (पेप्सी) प्रा.लि.मा कार्यरत मजदुरहरूले न्यूनतम बेतन र सामाजिक सुरक्षाको माग राखेपछि व्यवस्थापनले ५० जना मजदुरलाई निश्कासन गरेको भन्दै उपमहासचिव काफ्लेले मजदुरहरूलाई तत्काल पुनर्बहाली नगरिए व्यवस्थापन पक्षले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका हुन् ।
निश्कासन गरिएका मजदुरहरुको पुर्नवहालीका लागि मजदुरहरूले शनिबार परासीमा राजनैतिक दलका प्रतिनिधिसँग छलफल गरेका थिए । उनीहरूले उद्योग व्यवस्थापन पक्षले कुनै पनि सहमति कार्यान्वयन नगरेकाले बाध्य भएर संघर्षमा उत्रनुपर्ने अवस्था सृजना भएको बताए ।
आन्दोलनलाई नजिकबाट हेरिरहेका तत्कालीन वाईसिएलका परासी जिल्ला अध्यक्ष हरी भण्डारीले व्यवस्थापनको रवैयाले गर्दा मजदुरहरू आन्दोलित भएको बताए । नेता भण्डारीले न्युनतम् बेतन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्नुको सट्टा श्रमिक निश्कासन गरेर उद्योगले कानुनको धज्जी उडाएको बताए ।
कम्पनीले आफुहरुलाई बढी समय काम गराउने तर न्युनतम पारिश्रमिक पनि उपलब्ध नगराएको मजदुरको गुनासो छ ।
न्युनतम पारिश्रमिक नपाएपछि मजदुरहरुले कम्पनी व्यवस्थापनको ध्यानार्कषण गराएका थिए । तर व्यवस्थापन पक्षले उल्टै बिना जानकारी ५० जना मजदुरलाई निष्काशन गरेको मजदुर रमेस गौतमले जानकारी दिए ।
दैनिक ज्याला मजदुरीमा काम गर्ने ५० जना कामदारलाई वरुण वेभरेजले बिना जानकारी निश्कासन गरेपछि मजदुरहरु आन्दोलित छन् ।
आफूहरूको मागको सुनुवाई नभएपछि मजदुरहरूले आज ¥यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाउने र त्यसपछि पनि कुनै सुनुवाई नभए तालाबन्दी लगायतका चरणवद्ध आन्दोलनमा उत्रने गौतमले बताए ।
मजदुरहरुले श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ ले व्यवस्था गरेको सेवा सुविधा पाउनुपर्ने, नियमित रोजगारीको नियुक्ति पत्र दिनुपर्ने, दुर्घटना र मेडिकल बिमा हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्र्दै आएका छन् ।
सो उद्योगमा झण्डै ५ सय बढी मजदुर कार्यरत रहेका छन् । ती मध्ये ५० जना निश्काशनमा परेका हुन् । निश्कासनमा परेका मजदुरहरु अनुप्रित सोलुसन प्रालिमार्फत् वरुण वेभरेजमा काम गर्दै आइरहेको थियो ।
निष्काशित मजदुरलाई पुर्नवहाली गर्ने विषयमा उद्योग वाणिज्य संघको रोहवरमा उद्योग व्यवस्थापन विभिन्न राजनैतिक दलका प्रतिनिधिको उपस्थिति र छलफलमा भएको सहमति कार्यान्वयन नभएपछि जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय छलफलको सहमति कार्यान्वयन गर्न व्यवस्थापन पक्ष सहमत भएको थियो । त्यसपछि पनि उद्योग व्यवस्थापनले समस्या समाधान गर्न कुनै चासो देखाएको छैन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राजपा लगायतका राजनैतिक दलका प्रतिनिधिले उद्योग व्यवस्थापनलाई मजदुरका जायज माग तत्काल माग सम्बाेधन गर्न सचेत गराएका छन् ।














