बस दुर्घटनामा १९ जनाको मृत्यु १४ जना घाइते

११ असोज, धादिङ । धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गविसस्थित लापाङ चौतारा नजिकै दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

 मंगलबार बिहान धादिङबेसीबाट यात्रु बोकेर छुटेको बस बिहान साढे ११ बजे धादिङको उत्तरी क्षेत्रको गाविस मार्पाकमा दुर्घटना हुँदा उक्त बस सडकबाट करीव ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

धादिङ प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सत्यदेवी गाविसका मेन्दीजुन तामाङ, थिरमायाँ तामाङ, रङ्गसिंह तामाङ, लीलाबहादुर गुरुङ, रौता तामाङ, तीन वर्षीय रावत तामाङ, मार्पाक गाविसका कमला पौडेल, दिलकुमारी अधिकारी र पद्मबहादुर थापा छन् ।

यस्तै गुम्दी गाविसका रुद्रबहादुर घले, दार्खा गाविसका रामचन्द्र सापकोटा, सेर्तुङ गाविसका लारुप तामाङ, रि गाविसका मानबहादुर तामाङ, चन्द्रमान तामाङ, टेकबहादुर तामाङ, गाडी चालक गोरखाका गङ्गावीर विक र ठेगाना नखुलेका खिया लामाको पनि मृत्यु भएको छ ।

घटनास्थलमा मृत्यु भएकामध्ये एकजना र उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका अर्का एकजनाको सनाखत हुन नसकेको धादिङ प्रहरीले जनाएको छ ।

तपाइको मत