२० असोज, भक्तपुर । भक्तपुरका बस व्यवसायी तथा मजदुरले करिब एक हजार गाडी सञ्चालन हुँदा हुँदै साझाको गाडी थप गरिए साझा बसलाई भक्तपुरमा चल्न नदिने बताएका छन् ।
कोटेश्वर पूर्वयातायात समितिका संयोजक बलराम त्वानाबासुको संयोजकत्वमा बिहीबार भक्तपुरका बस व्यवसायी तथा मजदुरको संयुक्त बैठकले भक्तपुरका व्यवसायीहरु विस्थापित हुने भन्दै साझालाई भक्तपुर छिर्नै नदिने निर्णय गरेका हुन् ।
उनीहरुले स्थानीयको चाहना र माग ठूला गाडी भए आफूहरुले पनि ठूला गाडी चलाउन सक्षम र तयार रहेको निर्णय गरेका छन् ।
भक्तपुरस्थित भक्तपुर मिनिबस सेवा समितिले ७ नम्बर रुटमा तीन सय दस, पुरानो बाटो बस व्यवसायी संघले ९ र १० नम्बर रुटमा चार सयभन्दा बढी र मध्य उपत्यका बस व्यवसायी संघले १ नम्बर रुटमा दुई सयभन्दा बढी सवारीसाधन सञ्चालन गर्दै आएका छन् ।
यी चार वटा रुटमा चल्ने गाडीमा करिब तीन हजार सवारी धनी र ६ हजारको हाराहारीमा चालक तथा सहचालक आश्रित रहेको बस व्यवसायीहरुले बताएका छन् ।