११ असार, काठमाडौं । बागमतीको दायाँ-बायाँ संरचना निर्माण गर्दा १०० र ३० मिटर होइन २० मिटर छाडे पुग्ने काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले उपत्यकाका १४ नदीको बहाब क्षेत्रको दायाँबायाँ छाड्नु पर्ने जग्गाको दूरी सार्वजनिक गरिएको जानकारी दिए ।
प्राधिकरणका प्रवक्ता न्यौपानेका अनुसार वाग्मती, विष्णुमती, हनुमन्ते र मनोहरामा दायाँबायाँ २० मिटर, धोबीखोलामा धोबीखोला आयोजना लागू भएको क्षेत्रमा आयोजनाले तोकेअनुसार र अन्यत्र ९ मिटर दूरी कायम गरिएको छ ।
प्रवक्ता न्यौपाने भन्छन्, ‘नख्खुखोलामा १२ मिटर, बल्खु, कर्मनासा (कोड्कु), साङ्ले र महादेव खोलामा १० मिटर, शोभाभगवतीस्थित विष्णुमती खोलामा मिसिने करखुसी खोलामा छ मिटर, इच्छुमती, सामाखुसी एवम् उपत्यकामा बग्ने अन्य खोलामा चार मिटर दायाँबायाँ कुनै पनि भौतिक संरचना निर्माण नगर्न सार्वजनिक सूचना जारी गरिएको छ, कुनै पनि खोला, खोल्सी र राजकुलो छोप्न पाइने छैन ।’
प्राधिकरणले नदी, खोलाको दायाँ बायाँ भौतिक संरचना निर्माण गर्दा मानवीय दृष्टिले बाढीको जोखिम हुने सम्भावना रहेकाले मापदण्ड लागू गरिएको जनाएको छ । विसं २०२१ मा वाग्मतीको दायाँबायाँ १०० मिटर छाड्नु पर्ने नियम भएकामा उपत्यकामा बस्ती बढ्दै गई आवासीय क्षेत्र पनि घटेकाले ३० मिटर हुँदै अहिले २० मिटरमा झारिएको छ ।