बागमतीको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित

२९ पुस ०७९, काठमाडौं । बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् ।

शुक्रबार प्रदेशसभामा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक ६२ मतका साथ सभामुखमा निर्वाचित भएका हुन् ।

एमाले र माओवादी केन्द्रले मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति गर्दा राप्रपाले सभामुख पाएसँगै राप्रपाका पाठकले सभामुख पाए ।

राप्रपा त्यही दल हो, जसले प्रदेश खारेजीको माग गर्दै चुनावमा मत मागेको थियो ।

बागमतीमा २७ सिट जितेको एमाले र २१ सिट जितेको माओवादीले मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति गरेको छ ।

सभामुखमा नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सृजना सयजुले पनि उम्मेदवारी दिएका थिए ।

प्रदेशसभामा सत्ता गठबन्धनका उम्मेदवार पाठक ६२ मतका साथ निर्वाचित हुँदा उनको विपक्षमा ४९ मत खसेको थियो भने ७ जना तटस्थ बसेका थिए ।

सरकारलाई समर्थन गरेको एकीकृत समाजवादीका ७ प्रदेशसभा सदस्य सभामुखको निर्वाचनमा तटस्थ बसेका हुन् ।