८ साउन ०८१, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिं लामा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
मंगलबार लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
लामाले आजै कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
प्रदेश प्रमुख शर्माले आज मंगलबार ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए ।
उनले भोलि बुधवार ११ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ लिने कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए ।
निवर्तमान मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले ६ साउनमा प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिएपछि काँग्रेस एमाले गठबन्धनलाई नयाँ सरकार गठनको बाटो खुलेको थियो ।