२९ साउन ०७४, काठमाडौं । सरकारले तराईका बाढी प्रभावित १८ जिल्लामा र्यापिड रेस्पोन्स टिम पठाएको छ ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विशेषज्ञसहितको टोली तराईका बाढी प्रभावित १८ जिल्लामा पठाएको हो ।
टाइफाइड, आउँ, झाडापखाला जस्ता रोगको महामारी नफैलिओस् भनेर चिकित्सकको टोली बाढीबाट अति प्रभावित जिल्लाहरुमा पठाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख भीम आचार्यले जानकारी दिए । टिममा विशेषज्ञ डाक्टरसहित ११ जना छन् ।
जनकपुर, नेपालगञ्ज, रौतहट र विराटनगरमा विपत व्यवस्थापनको लागि चारवटा र्यापिड रेस्पोन्स टिम आवश्यक पर्ने औषधि सहित पठाइएको छ ।
बाढीका कारण मानवीय क्षति थप नहोस् भन्नका लागि क्षेत्रीय निर्देशनालयहरुलाई समेत अलर्ट हुन निर्देशन दिइएको छ । हरेक ठाउँको जानकारी मन्त्रालय र इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई भइरहेको आचार्यले बताए ।
स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्यकर्मीहरुलाई विदा नबस्न र गोष्ठी सेमिनार जस्ता कार्यक्रम रोकेर बाढी प्रभावित क्षेत्रमा परिचालित हुन निर्देशनसमेत दिएको छ ।