बाढीपहिरो पीडितको उद्दार कार्यमा जुट्न मातहतका संगठनलाई अन्टुफको आग्रह

२८ असार ०७७, काठमाडौं । सत्तारुढ दल निकट अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाले मातहतका संगठनहरुलाई बाढी पहिरो पीडितहरुको उद्दार कार्यमा जुट्न आग्रह गरेका छन् ।

आइतबार महासंघको केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकपछि बागमती प्रदेश सांसद समेत रहेका अध्यक्ष सिम्खडाले प्रभावित क्षेत्रका संगठनहरुलाई बाढीपहिरो पीडितको उद्दार कार्य तथा व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका हुन् ।

कोभिड–१९ महामारीसँगै थप प्राकृतिक विपद समस्या बनेर आएको भन्दै अध्यक्ष सिम्खडाले भने, “यस प्राकृतिक विपदमा पनि बन्दाबन्दीमा हजारौं अलपत्र मजदुरहरुको उद्दार र राहत कार्यमा जुटेजस्तै संगठनलार्ई आ–आफ्ना क्षेत्रका बाढीपहिरो पीडितको उद्दार कार्यमा जुट्न आग्रह गर्दछु ।”

उनले आजको बैठकमा न्यूनतम् वेतन, बन्दाबन्दी र मजदुरका सवालमा सरोकारवाला निकायसँग भएको विभिन्न बैठकको समीक्षा साथै मजदुरको भविष्य र आगामी कार्यक्रमका बारेमा छलफल भएको जानकारी दिए ।

केहीदिनदेखि भइरहेको अबिरल बर्षात्का कारण देशका विभिन्न भागमा बाढीपहिरोमा परेर कैयनले ज्यान गुमाइसकेका छन् भने कैयन बेपत्ता भएका छन् । हाल बेपत्ताहरुको खोजी कार्य जारी छ ।