१६ पुस ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा निराशा बाड्नेहरू राष्ट्रवादी हुन नसक्ने बताएका छन् ।
नेपाली कांग्रेसले सोमबार आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
दुई जना युवाको निधन हुनेगरी बालकुमारीमा भएको घटनाका बारेमा बाहिर देखिएजस्तो नभएको भन्दै उनले त्यसपछि मिडियाहरुमा आएका अभिव्यक्ति तथा प्रचारबाट गम्भिर हुनुपर्ने बताए ।
उनले भने, “केही चीज गम्भीर लागेको छ । यो सामान्य छैन । दुई युवाको जस्तो परिवेशमा जसरी हत्या गरिएको छ । इपीएसमा जे जस्ता गतिविधि भएका छन् चिज त्यस्तो छैन, जस्तो देखिएको छ ।”
प्रधानमन्त्री प्रचण्डले बालकुमारीमा भएको घटनालाई लिएर मन्त्रीलाई गाडीमै जलाउनुपथ्र्यो भन्ने जस्ता र प्रमुख पार्टीका नेताहरूलाई लक्षित गरेर गरिएका टिप्पणी स्वाभाविक मान्न नसकिने बताए ।
उनले यी सबै गतिविधि लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने बताउँदै भने, ‘त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु । यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै त छैन ? भन्ने अहिले मेरो कुनै प्रमाण होइन ।’
उनले उक्त घटनालाई गम्भीररूपमा लिएर उच्चस्तरीय छानबिन आयोग बनाइएको पनि बताए ।