बिरोधकै बिच नेकपा सप्तकोशी नगर कमिटीको सपथ ग्रहण

सप्तरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सप्तकोशी नगरपालिका कमिटीको सपथ ग्रहण बिरोध कै बिच सम्पन्न भएको छ ।

नेकपाको सप्तरी जिल्ला कमिटी गठन प्रक्रियामै विवाद रहेको र नगर कमिटी गठनमा समेत त्यसको असर स्पष्ट देखिएको छ । तथापि, बिरोधकै बिच नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश २ इन्चार्ज सत्यनारायण मण्डलले शुक्रबार नगर कमिटीलाई सपथ ग्रहण गराएका छन् ।

नवगठित ८१ सदस्यीय सप्तकोशी नगर कमिटी अध्यक्ष पारस दहाल र सचिव राज कुमारी चौधरीलाई चयन भएका छन् ।

नेकपा माओवादी केन्द्र र एमाले पार्टी एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सप्तकोशी नगर कमिटीमा पूर्व एमालेबाट ४१ र पूर्व माओवादीबाट ४० गरी ८१ सदस्य नगर कमिटी बनाइएको छ ।

उक्त कमिटी गठनप्रति असन्तुष्ट जनाउँदै जिल्ला सचिव गोबिन्द न्यौपाने लगायत केही जिल्ला कमिटी सदस्यहरुले सपथ ग्रहण अहिलेसम्म पनि लिएका छैनन् ।

यस्तै पुराना कार्यकर्ता पूर्वजिल्ला कमिटी सदस्य र नगर कमिटी सदस्यहरुलाई बाइपास गरेर नगर कमिटी घोषणा गरिएको भन्दै नेकपाका १ नम्बर वडा अध्यक्ष नारायण प्रसाद आचार्य, वडा नम्बर ४ का बद्रीनारायण चौधरी, ५ वडाका दिपक लेखी, ८ वडाका केदार शाह, ९ वडाका अध्यक्ष चन्द्रनारायण चौधरीले सपथ ग्रहण कार्यक्रम नै बहिष्कार गरेका छन् ।

प्रदेश २ इन्चार्ज सत्यनारायण मण्डलले ८१ सदस्यीय नगर कमिटीमा सिफारिस भएका मध्ये ५५ जनालाई मात्र सपथ ग्रहण गराएका छन् ।