३० मंसिर ०७६, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन परिपत्र गरेपछि कर्मचारी संगठनले आपत्ति जनाएको छ ।
सरकारले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले वित्तीय संस्था अनिवार्य सहभागी हुन निर्देशन गरेपछि बैंकका कर्मचारीहरूको संगठन ‘नेपाल वित्तीय संस्था कर्मचारी संघ’ले आपत्ति जनाएको हो ।
कोषले दिने सेवा सुविधाहरू अत्यन्त न्यून रहेको भन्दै वित्तीय संस्था कर्मचारी संघले आइतबार राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपाललाई पत्राचार समेत गरेको छ ।
नीतिगत अस्पष्टता भएकै बेला कोषमा सहभागी हुन अनिवार्य गरिनु गलत भएको भन्दै संघका महासचिव हरिराज खरेलले गभर्नर नेपालको ध्यानाकर्षण गरिएको बताए ।
सामाजिक सुरक्षाको व्यवस्थाले वित्तीय क्षेत्रमा गम्भीर समस्या सृजना हुने भन्दै संघले गाम्भीर्यतालाई बुझेर राष्ट्र बैंकले निर्देशन फिर्ता लिनु पर्ने जनाएको छ ।
यस्तै संघले कर्मचारीहरूलाई बेवास्ता गरी एक पक्षीयरुपमा अघि बढे वित्तीय क्षेत्रका सम्पूर्ण प्रतिष्ठानहरू दबाबमूलक कार्यक्रमको घोषणा गरी आन्दोलनमा जाने चेतावनी समेत दिएको छ । साथै, सामाजिक सुरक्षा कोषलाई स्वेच्छिक बनाउनु पर्ने संघको माग छ ।













