बैशाख १ देखि निःशुल्क मृगौला प्रत्यारोपण सुरु : सरकारद्धारा शोधभर्ना गरिने

भक्तपुर । बैशाख १ गतेदेखि देशभर मृगौलाको निःशुल्क प्रत्यारोपण गर्ने सरकारको निर्णय अनुसार नेपाल मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरले निःशुल्क मृगौला प्रत्यारोपण सुरु गरेको छ ।

आइतबार पहिलो दिन पोखराका ३० वर्षीय दिपक गुरुङ्गको मृगौलाको निःशुल्क प्रत्यारोपण गरिएको छ । दिपकलाई उनकी ६० वर्षीया आमा सुनमाया गुरुङ्गले मृगौला दान गरेकी थिइन् ।

नेपाल मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरकाअनुसार काठमाडौ, नाङ्गलेभारेकी २६ वर्षीया लक्ष्मी ढकाललाई उनकी ४८ वर्षीया आमा चन्दि्रका ढकालले मृगौला दान गरेकी छन् ।

दुबैको मृगौलाको निःशुल्क प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रले मृगौलाको निःशुल्क प्रत्यारोपण  सेवा सुरु गरेको कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए ।

मृगौला प्रत्यारोपण बापत शुल्क तिर्नु नपरे पनि प्रत्यारोपण गर्नु अघि हुने चेकअप तथा विभिन्न टेष्टको भने विरामीले शुल्क तिर्नु पर्ने हुन्छ ।

अस्पतालले कार्यकारी निर्देशकको संयोजकत्वमा तीन सदस्यीय ‘मृगौला प्रत्यारोपन सेवा सञ्चालन र व्यवस्थापन समिति’ समेत गठन गरिसकेको छ ।

मृगौला प्रत्यारोपण गर्न चाहने व्यक्तिले समितिमा निवेदन दिनु पर्नेछ र त्यसअनुसार निःशुल्क उपचारको व्यवस्था हुनेछ । यसरी केन्द्रले निःशुल्क मृगौला प्रत्यारोपण गरेवापत लागेको रकम सरकारद्धारा शोधभर्ना गरिने व्यवस्था छ ।

सामान्यत: नेपालमा एउटा मृगौला प्रत्यारोपण गरेको चार लाख रुपैयाँसम्म पर्छ भने भारतमा ३० देखि ४० लाख रुपैयाँसम्म पर्ने गरेको छ ।

तपाइको मत