शैक्षिक संस्थाहरु १ हप्ता बन्द : करार कर्मचारीले पनि दशैं खर्च, पोशाक भत्ता पाउने

२१ बैशाख ०७४, काठमाडौं । सरकारले पहिलो चरणमा स्थानीय तहको निर्वाचन हुने क्षेत्रमा बैशाख ३१ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार मतदानको दिन बैशाख ३१ गते सार्वजनिक दिने निर्णय गरेको हो ।

सरकारले पहिलो चरणको चुनाव हुने जिल्लाहरुमा बैशाख २५ देखि ३१ गतेसम्म शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

करारमा कार्यरत कर्मचारीले दशैं खर्च, पोशाक भत्ता, औषधि उपचार खर्च पाउने

मन्त्रिपरिषद् बैठकले करार सेवामा कार्यरत कर्मचारीहरुलाई पनि दशैं खर्च, पोशाक भत्ता, औषधि उपचार खर्च दिने निर्णय गरेको छ ।

बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकको २० अरब रुपैंया ऋण लिने प्रस्तावलाई स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद बैठकले पुष्पराम केसी, नारायणबाबू थापा र रामशरण पौडेललाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । यस्तै नेपाली सेनाका विनायक सिंहलाई पाइलट महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ ।

बैठकले सामान्य प्रशासनमन्त्री केशवकुमार विष्टको संयोजकत्वमा संघीय प्रशासनिक पूनर्संरचना समिति र काशीराज दाहालको नेतृत्वमा सहजीकरण समिति गठन गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

तपाइको मत