२४ भदौ ०७५, राजविराज । सप्तरीको बोदे बरसाईन नगरपालिकाले ८ वटा सेवामा निःशुल्क गरेको छ ।
सबैतिर कर वृद्धि भएको गुनासो आईरहेको वेलामा सो नगरपालिकाले आईतवार सुचना जारी गरी जनतालाई सहुलियत हुने हिसाबले विभिन्न ८ वटा शीर्षकमा कायम गरिएको कर मिनाहा समेत गरेको हो ।
नगरपालिकाले जारी गरेको सुचना अनुसार नागरिकता प्रमाण पत्र सिफारिस, जन्म दर्ता, विवाह दर्ता, बसाईसराई दर्ता, सम्वन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिस र स्वास्थ्य सम्वन्धि सिफारिस सेवा निःशुल्क गरिएको छ ।
यसअघि नगरपालिकाले कायम गरेको केही शीर्षकको कर बढि भएको सेवाग्राहीबाट गुनासो आउन थालेपछि कार्यापालिकाको बैठकबाट छलफल गरी कर दर रेटमा संशोधनसहित ८ वटा शीर्षकको कर मिनाहा गरी निःशुल्क गरिएको मेयर आतेशकुमार सिंहले जानकारी दिए ।