२० पुस, काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताबाट पूर्वाधार विकास शीर्षकमा उपभोक्तासँग संकलन गरेको अर्बौं रुपैयाँ रकम नियम मिचेर रकमान्तर गरी ऋण तिरेको फेला परेको छ ।
निगमको विनियमावलीमा जुन शीर्षकमा उठाइएको हो, त्यसमै खर्च गर्नुपर्ने व्यवस्था भए पनि बोनस खान विधि मिचेर ऋण तिरेर निगम नाफामा गएको देखाएको छ ।
निगमले पूर्वाधार शीर्षकमा आर्थिक वर्ष ०७१/७२ मा संकलन गरेको १४ अर्ब ७८ करोड रुपैयाँ, ०७२/७३ को २१ अर्ब ८८ करोड गरी कुल ३६ अर्ब ६६ करोड रुपैयाँ ऋण तिरेको आपूर्ति मन्त्रालयले मंगलबार संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हितसम्बन्ध समितिमा पेस गरेको प्रतिवेदनमा उल्लेख छ ।
निगम घाटामा रहँदासम्म ऋण र ब्याज शीर्षकमा रकम संकलन गर्दै आएको भए पनि त्यसका अतिरिक्त पूर्वाधारका लागि उठाएको रकमबाट ऋण तिरेको हो ।
निगम नाफामा गएपछि त्यहाँका कर्मचारीले बोनस खान पाउने कानुनी व्यवस्था छ । गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन घाटामा रहँदारहँदै करिब ९० करोड रुपैयाँ बोनस खाने तयारीमा थिए ।
ऋण तिर्न बाँकी रहँदा नै घाटामा रहेको निगमबाट बोनस खाने तयारीमा चौतर्फी विरोध र सरकारको निर्देशनपछि बोनस वितरण रोकिएको थियो ।