ब्राजिलका राष्ट्रपति कोरोना भाइरसबाट संक्रमित

२४ असार ०७७, काठमाडौं । ब्राजिलका राष्ट्रपति कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् ।

बीबीसीकाअनुसार उच्च ज्वरोलगायतका कोरोना संक्रमणका लक्षण देखिएपछि सोमबार स्वास्थ्य परीक्षण गर्दा राष्ट्रपति जेयर बोल्सोनारोलाई कोरोना पोजेटिभ देखिएको छ ।

उनले कोरोना संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीको विरोध गर्दै कोरोना महामारीलाई सुरुदेखि नै हल्कारुपमा लिँदै आएका थिए । सार्वजनिक स्थानमा जाँदा भौतिकदूरी कायम नगर्ने साथै मास्क पनि नलगाउने उनले कोरोनालाई ‘सामान्य फ्लु’ भन्दै आइरहेका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोरोना संक्रमण फैलिन नदिन गरिनुपर्ने सावधानीका उपाय नअपनाउँदा अहिले ब्राजिल सबैभन्दा बढी प्रभावित देशको सूचीमा रहेको अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

कोरोना संक्रमणबाटै ब्राजिलमा ६६ हजार ८ सय ६८ जनाको मृत्यु भइसकेको छ भने संक्रमित संख्या
१६ लाख ७४ हजार भन्दा बढी पुगिसकेको छ ।