भक्तपुरमा बाढीपहिरोले मृत्यु भएकालाई १ लाख र विस्थापितलाई १० हजार राहत दिने

२८ असार ०७५, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मजुवा बागेहिटीमा पहिरोले टहरा पुरिँदा मृत्यु भएकाका परिवारलाई जनही १ लाख रुपैयाँ राहत दिने भएको छ ।

गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर अविरल वर्षापछि आएको पहिरोले टहरो पुरिँदा मृत्यु भएका एकै घरका तीन जनालाई जिल्ला विपद् व्यवस्थापन समितिबाट जनही एक लाख राहत वितरण गर्ने निर्णय भएको जनाएको छ ।

बुधबार रातिदेखिको वर्षाका कारण घरपछाडिबाट पहिरो खस्दा ७० वर्षीय हिरा बहादुर लामा, ६५ वर्षीय तानमाया लामा र नातिनी २ वर्षीय सम्पदा लामाको मृत्यु भएको थियो ।

प्रेस विज्ञप्ति ।

त्यस्तै उक्त क्षेत्रका बाढी र पहिरोबाट विस्थापितको प्रतिपरिवारलाई १० हजार राहत तत्काल वितरण गर्ने निर्णय पनि भएको विज्ञप्तिमा उल्लेख छ ।

बुधबार रातिदेखिको पानीले काठमाडौं उपत्यकाका तीनै जिल्ला, उपत्यका बाहिरका काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, धादिङ, रसुवा, गोरखालगायत जिल्ला प्रभावित भएको भन्दै मन्त्रालयले ती क्षेत्रहरुमा नेपाली सेना, प्रहरी उद्धारमा खटाइएको बताएको छ ।

यस्तै सिन्धुली–धुलिखेल सडक विभिन्न स्थान पहिरोका कारण अवरुद्ध भएकोले आवागमन खुलाउन कार्य भइरहेको पनि जनाइएको छ । लगातारको वर्षाले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।

हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार क्षेत्र, राधेराधे क्षेत्र, निकोसेरा, दुवाकोट, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौं घर डुबानमा परेका छन् ।

गृह मन्त्रालयका अनुसार बाढी तथा पहिरोमा परेर बिहीबारसम्म ५६ जनाको मृत्यु हुनका साथै ३७ जना घाइते भएका छन् भने १२ जना बेपत्ता भएका छन् ।

 

 

तपाइको मत