१६ कार्तिक ०८१, भक्तपुर । भक्तपुर नगरपालिकाका नेवार समुदायले भोलि कात्तिक १७ गते भाइटीका लगाउने भएका छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाका नेवार समुदायले भने आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका लगाउने भएका हुन् ।
भक्तपुर नगरपालिकाले आज साँझ ५.१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउन नगरवासीलाई भनेको छ ।
सोही अनुसार भक्तपुर नगरपालिकाका नेवार समुदायले म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका लगाउने भएका हुन् ।
आज औंसीको दिन भए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक १६ गते कुनै पनि चाडपर्व नभएको जनाएको थियो ।
समितिले कार्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ गरी ६ वटा पर्व एकैदिन परेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रोमा उल्लेख छ ।
समितिका अनुसार तिथिका घटबढका कारण यस वर्ष ५ दिनमा सकिने तिहार ६ दिनसम्म लम्बिएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मंगलबारबाट सुरु भएको थियो ।