भत्ता खाने, बैठकमा नजाने सांसदहरुले कार्यान्वयन गर्लान् त नयाँ संविधान ?

२४ भदौ, काठमाडौं । पाँच सय ९५ संख्या रहेको संसदमा शुक्रबारको बैठकमा सांसद्हरुको गणपूरक संख्या नपुगेर बैठक स्थगित भएको छ ।

गणपूरक संख्याका लागि १४९ जना सांसद्को उपस्थिति आवश्यक पर्नेमा शुक्रबार संसदमा जम्मा १२६ जना सांसदहरु मात्र उपस्थित भएपछि नियमावलीअनुसार आवश्यक पर्ने न्यूनतम संख्या नपुगेपछि सभामुखले आइतबारसम्मका लागि बैठक स्थगित गरेकी छिन् ।

स्रोतका अनुसार संसद्‌ बैठकमा उच्च अदालत गठन लगायतका विधेयकसहितको महत्वपूर्ण कार्यसूची भए पनि ३६६ जना सांसद्ले हाजिरीमा दस्तखत गरेका तर, बैठकमा उपस्तिथि भने १२६ जनाको मात्रै रहेका छन् ।

स्रोत भन्छ, हाजिर गरेर सांसदहरु एनजिओ एनडीआइले आयोजना गरेको गोष्ठी पार्क भिलेज रिसोर्टमा सहभागी हुन संसद् भवनबाटै दुईवटा गाडीमा बाहिरिएका थिए ।

बिहान ११ बजे सुरु भएको बैठकमा शुन्य समयमा बोल्ने क्रम सकिएपछि नियमित कार्यसूचीमा प्रवेश गर्न लाग्दा गणपूरक संख्या नरहेको प्रश्न उठेपछि सभामुखले संख्या गणना गर्न निर्देशन दिएकी थिइन् । गणना गर्दा ५ सय ९५ संख्या रहेको संसदमा १२६ सांसदहरु मात्र बैठकमा उपस्थित थिए ।

२०७४ माघ ७ गते भित्र स्थानीय, प्रादेशिक र संसदीय चुनाव गरेर संविधान कार्यान्वयन गर्न सयभन्दा बढी कानुन बनाउनु पर्ने भए पनि सांसद्हरु संसद्‌मा हाजिर गरेर निजी काममा जाने र हाजिरै नगर्ने सांसदहरुले पनि तलब भत्ता अन्य सुविधा नियमित रुपमा लिने गरेका छन् ।

तपाइको मत