२६ साउन ०७४, काठमाडौं । यातायात ब्यवस्था विभागले बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडमा मालबाहक सवारी चल्न प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएको छ ।
बिहीबार ट्राफिक प्रहरी महाशाखामा बसेको ट्राफिकका प्रमुख सर्वेन्द्र खनाल र यातायात विभागका पुनःनियुक्त महानिर्देशक रुपनारायण भट्टराईसहितका उच्च अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
विभागका प्रवक्ता टोकराज पाण्डेकाअनुसार भदौ १ गतेबाट काठमाडौंको रिंगरोडमा ट्रक, मिनी ट्रक, टिप्पर लगायत सबै मालबाहक सवारी साधनलाई गुड्न प्रतिवन्ध लगाउने निर्णय भएको हो । तर, पेट्रोल, ग्यास, पानी लगायत अत्यावश्यक सेवाका सवारीका हकमा यो निर्णय लागू हुने छैन ।
उपत्यकामा भित्रिने मालबाहक सवारीका पार्किङस्थल नाका बाहिर :
उपत्यकामा भित्रिने मालबाहक सवारीका पार्किङस्थल नाका बाहिर हुने भएको छ ।
पृथ्वीराजमार्ग हुँदै आउने मालबाहक सवारीलाई नौबिसेमा पार्किङ गराइने छ ।
यसैगरी गोदावरीतर्फबाट आउने ट्रक-टिप्परले धापाखेलमा पार्किङ गर्न पाउने छन् भने नुवाकोट तर्फबाट आउने मालबाहक सवारीलाई झोर र मुडेमा रोकिनेछ ।
अरनिको तथा वीपी राजमार्गबाट आउने सवारी साधनलाई बनेपामा नै रोकिने छ ।
अहिलेसम्म टिप्परलाई मात्रै रिंगरोडमा निषेध गरिएको थियो ।