१० कार्तिक ०७९, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका । हरेक वर्षझैं यस वर्ष पनि दिदीबहिनीले दाजुभाइलाई सुस्वास्थ्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाएर भाइटीका पर्व मनाइँदैछ ।
तिहारमा दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीका लगाउने उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटको समय रहेको जनाएको छ ।
यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक भनिएको हो ।
यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ ।
यस पर्वमा दीपावली गर्ने, देउसीभैलो खेल्ने, माछामासु, सेलरोटी लगायतका मिठोमिठो परिकार बनाएर खाने साथै पिङ खेलेर रमाइलो गरिन्छ ।