२५ बैशाख, काठमाडौं (हाकाहाकी टिप्प्णी)।
भारतका लागि नेपाली राजदूत बन्नु अघि पूर्व प्रधानमन्त्री स्व.सुशील कोइराला नेतृत्वको सरकारले राजदूत नियुक्त गरेको नेपाली कांग्रेसका केन्द्रीयस्तरका नेता दीपकुमार उपाध्यायलाई केपी शर्मा ओली नेतृत्वको सरकारले फिर्ता बोलाएको छ ।
सरकारले नेपाली कांग्रेसको अग्रसरतामा प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढाल्ने प्रयास असफल भएसँगै राजदूत उपाध्यायलाई फिर्ता बोलाएको हो ।
सरकारले राजदूत उपाध्यायलाई फिर्ता बोलाएपछि कांग्रेसइतरले सरकारको राष्ट्रवादी कदम भनेका छन् कांग्रेस र उनका निकटस्थहरु नेपाल -भारतबीचको सम्बन्धमा अविश्वास बढाउने काम गरेको बताउन थालेका छन् ।
केही कुटनीतज्ञले सरकारको कदमको समर्थन गरेका छन् । तर, केही कुटनीतिज्ञले दीर्घकालीन हिसाबमा राजदूत फिर्ता र राष्ट्रपतिको भ्रमण रद्द प्रकरणले नेपाल–भारत सम्बन्धमा जटिलता पैदा गर्ने बताएका छन् ।
नेपालमा नयाँ संविधान जारी भएसँगै भारतीय नाकाबन्दीका बेलामा राजदूत उपाध्यायले भारत सरकारसँग सकारात्मक भूमिका खेल्न सकेनन् भन्नेको पनि कमी छैन् । तर नेपालमा नेपालका लागि भारतीय राजदूत रहेका राजदूतले नेपालका राजनीतिक दलका शीर्षस्थ नेता साथै मन्त्री बनिसकेका जिम्मेवार नेताहरुलाई दूतावासमा लाइन लगाएको इतिहास कसैबाट छुपेको पनि छैन् ।
परराष्ट्र स्रोतकाअनुसार राजदूत उपाध्यायले भारतीय राजदूत रणजीत रायसँग कैलाली कञ्चनपुरमा कार्यक्रम आयोजना गरेको, परराष्ट्र मन्त्रालयको अनुमति बिना दूतावास छाडेर हिँडेको र पछिल्लो समय सरकार ढाल्ने खेलमा सरिक भएको प्रमाण आफूहरुसँग रहेको दाबी गरेको छ ।
नयाँ संविधान जारी भएपछि सोको विरोधमा मधेश आन्दोलन चलिरहेकै बेला नेपालको आन्तरिक मामिला रहेको मधेश आन्दोलनसँग जोडिएर भारतले नेपालमा गरेको नाकाबन्दी र उसको भूमिका आलोच्य रहेको छ ।