२० असार ०७६, काठमाडौं । सरकारले भारतबाट आयात हुने तरकारी र फलफुलको विषादी परीक्षण नगर्ने भएको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले आधुनिक प्रयोगशाला नभएको बहाना बनाउँदै विषादी परीक्षण नगर्ने भएको हो । दुई साताअघि उद्योग तथा वाणिज्य मन्त्रालयको प्रस्ताव गरेपछि मन्त्रिपरिषद्बाट विषादी परीक्षण गर्ने स्वीकृत भएको थियो ।
नेपाल भारत सीमा नाकामा विषादी परीक्षण र क्वारेन्टाईनका लागि आवश्यक पूर्वाधार निमार्णपछि मात्रै निकासी पैठारी नीतिको पूर्ण कार्यन्वयनमा जाने आपूर्ति मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
सरकारले २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याउको थियो । तर, भारतले गम्भीर चासो व्यक्त गर्दै नेपाल सरकारलाई निर्णय फिर्ता लिन दबाब दिएको थियो ।













