३१ भदौं ०७४, काठमाडौं । प्रदेश नम्बर २ मा असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भारतसंग सीमा जोडिएका सबै नाका ७२ घण्टाका लागि बन्द गरिएको छ।
शुक्रबार राति १२ बजेदेखि असोज २ गते राति १२ बजे सम्मका लागि निर्वाचन सुरक्षाका लागि भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले भारतसंग सिमा जोडिएको १०७ किलोमिटर सीमा क्षेत्र बन्द गरेको हो । पर्सा जिल्लाको १०७ किलोमिटर भू-भाग भारतको बिहारसँग जोडिएको छ ।
सुरक्षाकर्मीले नाका बन्द गरिएसंगै नेपाल-भारत आवतजावतमा रोक लगाएका छन् । सुरक्षाकर्मीले भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्ज भन्सार कार्यालय अगाडिको ढाट खसाएर ताल्चा लगाइदिएका छन् ।
सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले साइकल, मोटरसाइकल, रिक्सा, ट्याम्पु लगायतका सबै खाले सवारी साधन आवजावतमा रोक लगाएका छन् । सीमा वारपार गर्ने पैदल यात्रुहरुलाई समेत शरीर खानतलासी गरेर मात्रै आवात जावत गर्न दिइएको छ ।
पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा दत्त पौडेलले पर्सामा रहेका १६७ वटा मतदान स्थल मध्ये भारतसँग सीमा जोडिएका स्थानमा रहेका ७३ वटा मतदान स्थललाइ सुरक्षाको दृष्टिकोणले अति संवेदनशील मानिएको बताए ।